भैरब खबर डटकम संवाददाता, बिहीबार, २९ पुष, २०७८
पाल्पा– वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकाे शब्द, सङ्गीत र स्वर रहेकाे नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक भएको छ ।
आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढङ्गबाट देखाउन खोजिएको छ ।
याे गीतमा गायिका समीक्षा अधिकारीले हरिवंशलाई स्वरमा साथ दिएका छिन् । गीतमा किरण तुलाधरको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो ।
आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए ।
यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ ।