भैरब खबर डटकम संवाददाता, आईतवार, ४ मंसिर, २०७९
पाल्पा – जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । संघीय संरचनासँगै दोस्रो पटक भएको निर्वाचन आगामी पाँच वर्षका लागि आफ्ना प्रतिनिधि चयन गर्ने निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
मतदान सकिएपछि मतपेटिका पाल्पा क्षेत्र नं. १ को रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ को मतपेटिका तानसेनमा ल्याइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । उहाँका अनुसार टाढा तथा दुर्गम भेगबाट मतपेटिका तानसेन ल्याउने काम जारी रहेकोले मतगणना भने भोली देखि नै हुन सक्ने बताउनुभयो ।
११८ मतदान स्थलको मतपेटिका सम्बन्धित निर्वाच्न अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तानसेनको जनप्रिय मावि बर्तुङ्गको केन्द्रमा र दमकडाको –ग) मतदान स्थलमा मतपेटिकमा मत पत्र राख्दा फरक परेकाले पुनः मतदान गरिएको छ । दुवै केन्द्रमा अहिले पनि मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आइतबार बिहानै जनप्रिय माविको ५५ वटा मतपत्र अर्कोमा खसालेपछि बिवाद भएको थियो । यस्तै दमकडा मतदान केन्द्रमा समेत ५८ मत अर्को बाकसमा खसेपछि बिवाद भएको थियो । विवाद भएको दुबै स्थानमा पुन मतदान भएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो । जिल्लाको अन्य स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो ।