भैरब खबर डटकम संवाददाता, मंगलवार, १० माघ, २०७९
पाल्पा-पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ तीन वर्षपछि आज देखि पुनः संचालनमा आउदै छ ।
कोरोना महामारी सुरु भएसँगै २०७६ चैत महिना देखि बन्द रहेको हल स्तरोन्नति भएर सञ्चालनमा आउन लागेको हो ।
आजदेखि रिलिज हुने शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ गर्ने गरिने संचालक सर्जुमान लिगलले जानकारी दिनुभयाे । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन शुरूवात गरेका थिए ।
जिल्लाकाे एक मात्र चलचित्र मन्दिर बन्द हुदा दर्शकहरूबाट पटकपटक गुनासाे आइरहेकाे थियाे ।
हलका सञ्चालक सर्जुमान लिगलले स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिनुभयाे । ‘पहिलेकै अवस्थामा चल्ने देखिएन । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नति गरेका छाै । ‘ हलका सिटहरू परिवर्तन गर्ने, साउण्ड सिस्टम स्तरीय बनाउने, स्क्रिन परिवर्तन गर्ने लगायत हललाई अलिकति ‘मेटेनेन्स’ गरेर नयाँ ढंगले सञ्चालनमा ल्याइएकाे बताउनुभयाे ।
विगत ३० को दशकदेखि विशालबजारमा ‘सन्तोष चलचित्र मन्दिर’ सञ्चालनमा आएको हो । हल सञ्चालन पश्चात् सुनसान बन्दै गएको जिल्लालाई गुल्जार बनाउन थप टेवा पुर्याउने अपेक्षा रहेको संचालन लिगलले बताउनुभयाे । चलचित्र ‘पठान’ प्रदर्शन बुधबारदेखि ११ः १५ बजे, २ बजे र ५ बजे हलमा प्रदर्शन हुदैछ ।