भैरब खबर डटकम संवाददाता, बुधबार, ७ मंसिर, २०७९
पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरामा परम्परादेखि धान काटेपछि देवतालाई चढाएर मात्रै खाने परम्पराको निरन्तरता चलेको छ । यहाँ धान भित्र्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ, त्यसैको निरन्तरता स्वरुप अहिले यहाँ मेला नै लाग्ने गरेको छ ।
यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसादस्वप खाने परम्परा रही आएको छ । यसरी चढाएपछि मात्र घरमा भिर्याइएको नयाँ धानको भात खाने गरिन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरुको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् ।
न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुनेगर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रुपमा मनाउन थालिएको स्थानीयले जनाएका छन् । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँंगै मौलिक संस्कृति, जीवन पद्धती, कृषक तथा कला संस्कृतीसँग गासिएको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । सोही अनुसार यस वर्षको न्वागी मंगलबार पर्व भव्य रुपमा मनाइएको छ ।
पालिकाको नाम समेत यसै मन्दिरबाट भएकाले न्वागी पर्वलाई गाउँपालिकाले धार्मिक आस्थासँगै कला संस्कृति जर्गेना गर्ने काममा लागेको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । पालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेवीको महत्व, न्वागी पर्वको मान्यता, स्थानीयकला संस्कृति र मनोमोहक दृश्यले यस क्षेत्रको महत्व बढाएको बताउनुभयो । परम्परागत स्थानीय कला संस्कृति हराउँदै गएको समयमा पालिकाले स्थानीय कला संस्कृति नाचलाई प्रतियोगिताको रुपमा सञ्चालन गरी जर्गेना गर्ने काम गर्दै आएको उहाँको भनाई छ ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न गाउँपालिका लागेको छ ।’ रैनादेवी मन्दिरलाई व्यस्थित गर्दै नयाँ मन्दिरका लागि काम शुरु भएको, न्वागी पर्वलाई अझै व्यवथित गर्दै लैजाने पालिकाको योजना रहेको छ ।स्थानीय कला संस्कृति देखाउने, जर्गेना गर्ने, प्रतियोगिताको रुपमा स्थानीय कलाकर्मीको हौसल्ला बढाउने गरी पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडा अध्यक्ष प्रदिप पौडेलले बताउनुभयाे । न्वागी खान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रहरी प्रमुख जनकबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका अधिकृत यज्ञेश्वर पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकारहरु, रैनादेवी मन्दिर परिसरमा पुगेका थिए ।
अतिथि तथा सर्वसाधारणलाई मन्दिर व्यबस्थापन समितिले दही, चामल खुवाएर स्वागत गरेको थियो । न्वागी पर्वको अवसरमा रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख अवस्थामा रहेका पञ्चेवाजा, सोरठी, मालश्री, ठूलो नाँच, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनी, जस्ता विभिन्न जात जातिका स्थानीय मौलिक कला संस्कृतिले दर्शकहरुको मन जितेको थियो ।