भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३ असार, २०७९
टेलिभिजन प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनमा प्रसारित ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन् ।
उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबार बिदाइ गरेका छन् । लामिछानेले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट र कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोच नरहेको पनि बताएका छन् ।
उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेको बताएका छन् । न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए । त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।
सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने र त्यसपछि उनले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गरेका छन ।