भैरब खबर डटकम संवाददाता, मंगलवार, ३ फाल्गुन, २०७८
काठमाडौ- फरवरी १८ देखि ओमानमा सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए सुरु हुनुअघि नेपाली क्रिकेट टिमलाई झड्का लागेको छ ।नेपाली टिमको मुख्य फास्ट बलर करण केसी घाइते रहेका कारण उनले क्वालिफायर गुमाउने भएका छन् ।
नेपाली टिममा रहेका १७ खेलाडीमध्ये १६ खेलाडीले सिरिजमा खेल्दा करणले मात्र खेलेनन् । ढाडको समस्याका कारण करण पूर्ण फिट छैनन् । करण अनफिट रहेकाले उनी नेपाल फर्कने र उनको स्थानमा अर्को बलर पठाइने क्यान स्रोतले जनाएको छ ।करणको स्थानमा युवा फास्ट बलर गुल्शन झालाई ओमान पठाउने तयारी भइरहेको छ ।चोटकै कारण फास्ट बलर सोमपाल कामी ओमान टुरमा गएनन् । करण पनि नभएपछि नेपाली टिममा अहिले अविनाश बोहरा, कमल सिंह ऐरी र जितेन्द्र मुखिया मात्र छन् ।अविनाशले २०१९ र कमलले २०२१ मा टी-२० मा डेब्यु गरेका थिए । जितेन्द्र भने ७ वर्षपछि टी-२० टिममा फर्किएका हुन् ।
लोअर अर्डरमा ब्याटिङसमेत गर्न सक्ने सोमपाल र करण जस्ता खेलाडीहरू नहुँदा नेपालीलाई समस्या पर्न सक्छ । ओमान टुरमै डेब्यु गरेका विवेक यादव र लोकेश बम जस्ता खेलाडी फिनिसरको रुपमा टिममा रहन सक्छन् ।
ग्लोबल क्वालिफायरको लागि आज नेपालको अन्तिम टोली घोषणा हुनेछ ।क्वालिफायरमा समूह ए मा रहेको नेपालले ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ ।