भैरब खबर डटकम संवाददाता, शनिबार, १९ चैत्र, २०७८
रामजी प्रजापति- समय परिवर्तनशील छ । समयसँगै यो संसार पनि परिवर्तन हुँदै छ । त्यसैले हाम्रो सोँच र मानसिकता पनि परिवर्तन गर्नु/हुनु आवश्यक छ ।” यही कुरालाई मूलमन्त्र बनाइ यस शर्ट फिल्मको निर्माण गरिएको हो । सरावल गाउँपालिकाको आर्थिक सहयोग र न्यायिक सरोकार संस्थाको प्रस्तुतिमा बनेको यस शर्ट फिल्मको हिजो (शुक्रवार - चैत्र १८ गते) पहिलो स्क्रिनिङ, सरावल गाउँपालिको कार्यालयमा पालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय तथा अन्य कर्मचारी र फिल्म निर्माणमा संलग्न सम्पूर्णको माझमा गरियो ।
आज यस फिल्मलाई सामाजिक संजाल यूट्यूबमा डिजिल माध्यबाट सार्वजनिक गरिँदै छ, ‘द कन्टेन्ट नेपाल’को चैनलबाट । फिल्मका निर्देशक अनिल कुर्मीले बताए अनुसार यस कथाका लेखक हुन् इजहार मोहम्मद शेष । अनिलले भने, “इजहारले मलाई काठमाडौँमै भेट्नको लागि बोलाउनु भयो, हामी एउटा चिया पसलमा भेट्यौँ, र यस फिल्मको बारेमा कुरा गर्यौँ । खासमा म अत्यन्तै व्यस्त थिएँ, उपत्यका भित्र मेरो थप एक हप्ताको काम थियो । तर आफ्नो ठाउँको काम हो, गर्नपर्छ भनेर प्रस्ताव स्वीकार गरेँ । इजहारले मलाई स्क्रिप्ट पठाए । स्क्रिप्ट एउटा सडक नाटकको स्क्रिप्ट जस्तो थियो । मैले उनीसँग त्यस स्क्रिप्टलाई रि-राइट गर्ने अनुमति माँगे, उनले खुशी-खुशी भने - जे गर्दा बेस्ट हुन्छ, तपाईँ त्यो गर्नुस् । मैले दुई दिन लगाएर स्क्रप्टबाट स्क्रिनप्ले निर्माण गरेँ । काठमाडौँबाट जब गृह जिल्ला फिर्कियौँ, फिल्डमा आउँदा सबै कुरा काँचो थियो ।
कलाकार र अन्य सहयोगी साथीहरूले फिल्मको शुटिङ हेर्नु नै भएको थिएन । त्यसैले मैले कलाकारहरूलाई वर्कशप गराएँ, तीन दिन लाग्यो । हामीसँग बजेटको अभाव थियो, त्यसैले दुई-दिन शेड्यूललाई एकदिनमा टाइट गर्यौँ । निर्माणमा सहयोग गर्ने साथीहरूलाई फिल्ममा कसरी काम गरिन्छ, र हामीले यहाँ कसरी काम गर्छौँ भन्ने कुरामा थोरै ओरिएन्टेसन दिएँ । शुटिङ गर्दा जहिले पनि मेरो लागि उत्सव जस्तो लाग्छ । सायद मलाई यो काम गर्दा खुशी भेटिन्छ त्यही भएर म यो काम गर्छु । यो प्रोजेक्ट पनि मेरो लागि उत्सवझैँ नै लाग्यो । यो सबै प्रक्रियामा मलाई एउटै कुरा नराम्रो लागिरह्यो । कि मैले अभिनय गर्न पाइनँ, किनकी म सबैभन्दा पहिला एक्टर हो, मेरो पहिलो प्राथमिकतामा एक्टिङ नै पर्छ । तर नयाँ कलाकारहरूको उमङ्ग देखेर निकै प्रोत्साहित छु ।”
फिल्मको कथामा हाम्रै समाजमा रहेका यथार्थ र आदर्शको चित्रण गरिएको छ । कथा ठ्याक्कै जान्नको लागि फिल्म एकचोटि हेर्नै पर्ने हुन्छ । फिल्मको छायाँङ्कन सरावल गाउँपालिकामा भएको हो, र यसको सिनेमेटोग्राफर हुन् भूपेन चौधरी, जो एक कुशल गायक पनि हुन् र बर्दघाटमा अवस्थित ‘द कन्टेन्ट नेपाल’ यूट्युब च्यानल र प्रोडक्सन हाउसका संस्थापक पनि हुन् । यस फिल्मको एडिट र कलर पनि भूपेन चौधरीले नै गरेका हुन् । साउण्डका प्राविधिक हुन् अशोक कुमार परियार, जो एक कुशल डान्सर र कोरियोग्राफर हुन् । र, यस फिल्मको पोस्टको काम ‘द कन्टेन्ट नेपाल’ मा नै भएको हो । यस फिल्ममा ज्योति यादव, श्रीकान्त सहानी, शिउ कुमारी गुप्ता, मोहम्मद इजहार शेष, रेखा कहाँर, शिव कहाँर, बुद्ध सागर गुप्ता, सलमान खान र श्रीराम रायको अभिनय रहेको छ ।
त्यसैगरी यसको निर्माण टोलीमा बुद्ध सागर गुप्ता, नेसार अह्मद पठान, सलमान खान र नितिस कहाँरको महत्वपूर्ण भूमिका रहेको छ । ‘द कन्टेन्ट नेपाल’ युवाहरूको एउटा समूह हो जसले फिल्म र म्यूजिक भिडियोमा आफ्नो कौशल देखाइरहेका छन् । “द कन्टेन्ट नेपालले अन्य थुप्रै प्रोजेक्टहरू पनि छिटै निर्माण गर्ने र बजारमा ल्याउने छ” यस फिल्मका निर्देशक अनिल कुर्मीले जानकारी दिएका छन् । साथै फिल्म हेरिसकेपछि तपाईँहरूलाई लागेका कुराहरू, सुझावहरू, क्रिटिकल-नन-क्रिटिकल कमेन्ट्स्हरू अवस्य दिनुहोला, यसले हाम्रो कामको शैली र गुणस्तरमा सहयोग पुर्याउनेछ भन्दै आह्वान गरेका छन् ।