माया बस्याल, आईतवार, १८ मंसिर, २०७९
माथागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि प्राविधिक घरघर पुग्ने गरेका छन । ८ वटा वडा रहेको माथागढी गाउँपालिकाले पालिकाका कृषकहरूले गरेको कृषि एवम पशुपालनमा समस्या देखिए वडामा रहेका कृषि प्राविधिकहरूले घरघरमै पुगी सेवा दिने गरेका छन ।
माथागढी गाउँपालिका कृषि तथा पशु शाखा प्राविधिकहरुको आ.व.२०७९/८० को पहिलो चौमासिक प्रतिवेदन तथा समिक्षा कार्यक्रममा सहभागी कृषि प्राविधिकहरूले उक्त कुरा बताएका हुन । समिक्षा कार्यक्रममा ८ वटा वार्डका कृषि,पशु प्राबिधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पालिकाका कृषि शाखा प्रमुख गौतम थापाले कृषि तथा पशु पालन क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न प्राबिधिकलाई टोलटोलमा खटाइएको जानकारी दिनुभयो । यसका साथै समुदायमा देखिएका समस्यालाई छिटो समाधान गर्ने समेत बताउनुभयो । कार्यक्रमका अथिती तथा वार्ड न ४ का अध्यक्ष शंकर दर्लामीले झदेवामा संचालन भएको कृषि तथा पशु पकेट क्षेत्र कार्यक्रममा प्राबिधिकको सहयोगले देखीएका समस्याको समाधान गर्दा राम्रो भएकोमा धन्यवाद दिनुभएको थियो ।
गाउँपालिका प्रमुख यम बहादुर चिदीले कार्यक्रममा बोल्दै पालिका भित्रका वार्डहरु भौगोलिक विकटता भएको कारणले हाल गाउँपालिकाका वडाहरूमा रहेका कृषि तथा पशु प्राबिधिकको सहयोगमा उल्लेखनीय परिवर्तन आएको बताउनुभयो । कार्यक्रम गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक तथा वार्ड न ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।