भैरब खबर डटकम संवाददाता, मंगलवार, २० मंसिर, २०७९
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिकाले लैङगिक हिंसा बिरुद्घको १६ दिने अभियान अन्तर्गत विबिध कार्यक्रम गरेको छ । सोमवार अभियानकै अवसरमा पालिकाको सभाहलमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । हिंसाको भाव मात्रैले पनि मानिसलाई असफल बनाउने भएकाले हिंसा गर्ने तर्फ सोँच्न सम्म पनि नहुने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । ‘हिंसा गर्नु त हुँदै भएन त्यसको बारेमा सोँच्न समेत हुँदैन । स्वच्छ र समुन्नत समाज निर्माणका लागि हिंसा शुन्य हुनुपर्छ । हिंसा शुन्य बनाउनका लागि सबैले आफ्नो ठाउँबाट कार्य गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले १६ दिन मात्रै महिलाको बारेमा कुरा गरेर महिला हिंसा अन्त्य नहुने भन्दै हिंसा अन्त्यका लागि सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो । ‘महिलालाई अहिले पनि फरक नजरले हेर्ने गरिन्छ पहिला नजरमा नियत सफा हुनुपर्छ’ अधिकारीले भन्नुभयो । ‘हिंसा अन्यका लागि सबैको समान दायित्व छ ।’ उहाँले भन्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले यसप्रकारको कार्यक्रममा समुदाय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागीहरुले सिकेका र लिएको ज्ञानलाई गाउँ टोलसम्म लैजानुपर्ने बताउनुभयो ।
लैङगिक हिंसा बिरुद्घको १६ दिने अभियान अन्तर्गतको कार्यक्रममा महिला विकास शाखाकी सिर्जना नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका तर्फबाट समेत प्रशिक्षण दिइएको थियो । प्रहरी निरिक्षक भुपेन्द्र थापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रर्दशनको माध्यमबाट लैङ्गिक हिंसा विरुद्द जनचेतनामुलक सामग्री प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयम्सेविका र उहाँहरुको भूमिकाबारे कार्यपत्र पेश गर्नुभएको थियो ।
गाउँपालिकाले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा समेत सोमबार कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्वास्थ्यको क्षेत्रमा स्ययंसेविकाको योगदानको उच्च प्रशंसा गर्दै पालिकाले सधै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै नितिगत विषयमा जानकारी गराउनुभएको थियो । दिवसको अवसरमा प्रत्येक वडाबाट उत्कृष्ट १ जना स्वयंसेविकालाई सम्मान समेत गरिएको छ । जनहि १ हजार ५०० रुपैँया नगद र सम्मानपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, स्वयंसेविका, नागरिक समाजका प्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिका अधिकृत रुकलाल भट्टराईले सञ्चालन गर्नुभएको थियो ।