सन्तोष गहतराज, मंगलवार, २४ माघ, २०७९
पाल्पा-स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको छ ।
खेलको शुभारम्भ लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरले उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभामुख घर्तीले पालिका स्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुभयो । खेलले खेलाडी उत्पादनमा मात्र नगरि शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै खेलाडीहरूको अग्रिम बिजयीको शुभकामना व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र खेलाडीहरूमा रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भट्टराईले खेलकुदमा उत्कृत खेल प्रदर्शन गर्ने खेलाडीलाई अन्य जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता लगायत अन्य जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षकहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ ।