सन्तोष गहतराज, शुक्रबार, १६ मंसिर, २०७९
पाल्पा- रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिका ऐतिहासिक धार्मिक तथा पुरातात्त्विक महत्व बोकेका धार्मिक स्थलहरूको संरक्षण गाउँपालिका अगाडि बढेको बताउनुभएको छ । ८ वटा वडा रहेको रैनादेबी छहरा गाउँपालिकाले पालिका भित्रका ऐतिहासिक धार्मिक महत्व बोकेका धार्मिक स्थलहरूको संरक्षण गाउँपालिका जुटेको बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाको सिङ्गै पहिचान बोकेको जुन मन्दिरको नामबाट गाउँपालिकाको नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।
निर्वाचनको क्रममा जनतासंग गाउँपालिकाका अध्यक्ष भट्टराईले गाउँपालिकाको नामाकरण भएको रैनादेवी मन्दिर संरक्षण, सम्वद्र्धन तथा पूर्वाधार विकासको काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सोही प्रतिवद्धता अनुसार पालिकाको ११ औ गाउँससभाको नीति तथा कार्यक्रम बजेटमा रैनादेवी मन्दिरको लागि ५० लाख रुपैयाँ बजेट पारित गरेको बताउनुभयो । स्थानीय राजनीतिक दल, गाउँका बुद्धिजिवी, बुढापाका, लामाधामी तथा धार्मिक व्यक्तिहरुको सहभागितामा तथा सरसल्लाहमा रैनादेवीको मौले क्षेत्रमा ३ तले मन्दिर निर्माणको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष भट्टराईले बताउनुभयो ।
मन्दिर निर्माण क्षेत्रको गाउँपालिकाका ईन्जिनियर किशोर खनाल लगायतको प्राविधिक टोलीले नापजाँच गरी डिजाइन स्टिमेटको काम शुरु गरेको छ । आउदो असार मसान्तसम्म सक्ने गरी डिजाइन स्टिमेटको काम भईरहेको र आगामी पुषबाट मन्दिर निर्माणको काम शुरु हुने ईन्जिनियर खनालले जानकारी दिनुभयो । मन्दिर निर्माणलाई व्यवस्थित र पारदर्शी रुपमा काम गर्न आर्थिक समिति, निर्माण समिति, लेखा समिति, सल्लाहकार समिति गठन भएका छन् । मन्दिर निर्माण स्थलमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा अध्यक्ष प्रदिप पौडेल लगायतले मन्दिर संरक्षण एवम निर्माणका लागि गाउँपालिका अगाडी बढेको बताउनुभयो ।
रैनादेवी पश्चिम पाल्पाकै चर्चित मन्दिरको नामले चिनिन्छ । मन्दिरमा नवदुर्गा, न्वागी, बैशाखे पूर्णिमामा, चैत्र नवरात्रमा विशेष पुजाआजा मेला लाग्ने गरेको छ । प्रत्येक १५ दिनमा नियमित छोटी पुजा गर्ने परम्परा रहेको छ । यस क्षेत्रमा मानिसले नयाँ अन्न रैनादेवीलाई अर्पण गरेर मात्र घरमा खाने परम्परा रहेको पाइन्छ । डाँडाको अग्लो टुप्पोमा रहेकाले मन्दिर क्षेत्रबाट नेपालका अधिकांश हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
यसैगरी मुझुङको कालिका स्थान गढीमाई, सोमादीको देलुङ्गा, छहराको तिलकस्थान, बल्ढेङगढीको गढी दरवार, मगर, सत्यवतीमा रहेको पानी झरना, गुराशको वन सरक्षणमा पालिकाले बजेट विनियोजन गरी काम शुरु गर्ने पालिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका ८ वटै वडाका ऐतिहासिक धार्मिक तथा पुरातात्त्विक महत्व बोकेका धार्मिक स्थलहरूको संरक्षण गर्दै आन्तरिक एवम बाह्य पर्यटकहरूको आगमन वृद्धि गरि रैनादेबी छहरा गाउँपालिकालाई धार्मिक पर्यापर्यटन माध्यमबाट स्थानीयको आम्दानीको स्त्रोतमा वृद्धि गर्ने योजनाका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । पालिका र प्रदेश सरकारको मातहतमा वडा न ५ को मुझुङ्गमा रहेको कालिका मन्दिरको निर्माण गरिएको छ । रैनादेबी मन्दिरको निर्माणका लागि स्थानीय सरकारले काम शुरू गरेको छ । आगामी दिनमा पालिकाका वडाहरूमा रहेका ऐतिहासिक धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरूको जिर्णद्वार गरि त्यस्को संरक्षणमा स्थानीय सरकारले ध्यान केन्द्रित गर्ने बताउनुभयो । पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा विभिन्न समुदायका नागरिकहरूमा आधारित रितिरिवाज,कला सस्कृतिको संरक्षण एवम प्रस्तुतिकरण गरि स्थानीयको आम्दानीको स्त्रोत वृद्धि गर्न गाउँपालिका बिशेष योजनाका साथ अगाडि बढेको अध्यक्ष भट्टराईको भनाइ छ